दफा २५
ऋण असुली विधि
(१) ऋण असुली अधिकृतले न्यायाधिकरणको आदेश प्राप्त भएपछि सो आदेशमा तोकिएको म्यादभित्र ऋणीबाट ऋण रकम असुलउपर गरी सम्वन्धित बैंक तथा बित्तीय संस्थालाई दिलाई दिनु पर्नेछ । (२) ऋण असुली अधिकृतले ऋणको साँवा तथा ब्याज रकम असुलउपर गर्दा प्रचलित कानूनको अधिनमा रही देहायका विधि अपनाउन सक्नेछ (क) ऋणीको धितो राखिएको वा नराखिएको अन्य चल वा अचल सम्पत्ति कब्जा वा लिलामबिक्री गर्ने, (ख) जमानत दिने व्यक्तिको चल वा अचल सम्पत्ति कब्जा वा लिलामबिक्री गर्ने, (ग) कुनै व्यक्ति विशेष ऋणी वा जमानत दिने व्यक्ति भएकोमा त्यस्तो व्यक्तिलाई पक्राउ गरी प्रचलित कानूनबमोजिम थुनामा राख्ने ।